समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा, यसो भने नेताहरुले

संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले आज समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताले अवधारणापत्रमा हस्ताक्षर गर्दै मोर्चा घोषणा गरिएको हो ।

अवधारणापत्रमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नत्रविक्रम चन्दले हस्ताक्षर गरेका छन् ।



नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको छ ।

यस्तै, आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधिसहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने र गरिबी उन्मूलन र रोजगार प्रवद्र्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशील बनाउने मोर्चाको उद्देश्य रहेको छ ।

त्यस्तै, मोर्चाले वैज्ञानिक भूउपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगिकीकरण, व्यवसायिकीकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, ऊर्जा, जलस्रोत, वन, उद्योग, वाणिज्य, पर्यटन, सूचना (प्रविधि, भौतिक पूर्वाधार, यातायातलगायत क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकका रूपमा विकास गर्ने योजना तय गरेको छ ।

शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने उद्देश्य राखेको मोर्चाले सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने एवं शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउँदै प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने मोर्चाको योजना छ ।

त्यस्तै, गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनको परिपाटी स्थापित गर्ने, योजना तर्जुमा गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखापरेको अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कमिसनतन्त्रजस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने भएको छ ।

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीयतहका सरकारहरू बीचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशको राजस्व तथा स्रोत साधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवासुविधाहरू जनतामा पुर्याउन प्रदेश तथा स्थानीय तहलाई सक्षम बनाउँदै सङ्घीय समाजवादी प्रणालीलाई समृद्ध गर्ने भएको छ ।

देशको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधार मानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नेछ ।

विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूका कारण विभिन्न दलका नेता र कार्यकर्ताहरूमाथि लगाइएका मुद्दाहरूको खारेजी र राजबन्दी रिहाइका लागि आवश्यक कानुनी र राजनीतिक पहल गर्ने र विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने भएको छ ।

समाजको विविधतायुक्त चरित्रअनुरूप राष्ट्रिय, लोकतान्त्रिक र वैज्ञानिक संस्कृति प्रवद्र्धन गर्ने, जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावहरूको अन्त्य गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्ने, प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्नेछन् ।

त्यसैगरी, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एवं न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने तथा श्रम संस्कृतिलाई प्रोत्साहित गर्ने एवं श्रमजीवी जनताको पहलकदमीमा आर्थिक समृद्धिको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने लक्ष्य राखेको छ । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

यस्तै, दैनिक कार्यसञ्चालनका लागि एउटा सचिवालय गठन गर्नेछ । मोर्चालाई स्थानीयस्तरसम्म विस्तार गरिनेछ । कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेताले हातेमालो गर्दै प्रसन्नता व्यक्त गरेका थिए ।

समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको बताएका छन् । समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अङ्ग बनाएको तथ्य पेस गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने क्रममा यो मोर्चा स्थापना भएको हो ।’ परिवर्तनकारी सबै शक्तिलाई समाजवादी मोर्चामा सहभागी हुन आह्वान गर्दै उनले नयाँ शिराबाट अगाडि बढ्न एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘यो नै वैज्ञानिक मार्ग हो, परिवर्तकारी मार्ग हो ।’ मोर्चाको दूरगामी महत्त्व रहेको उल्लेख उहाँले विगतका कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढेको बताए । अग्रगामी र परिवर्तनकारी शक्ति सबैलाई मोर्चामा सहभागी हुन प्रधानमन्त्री दाहालले आग्रह गरे ।

नेकपा घोषणाको स्मरण गर्दै उनले भने, ‘राष्ट्रियसभा गृहको यही हल र रोष्ट्रमबाट नेकपा बनाउने घोषणा बनाएका थियौँ । निकै ठूलो भरोसा र अपेक्षा गरेका थियौँ । समाजवादको बाटोमा, आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अगाडि बढाउने विश्वास राखिएको थियो । हामीले कहाँ त्रुटि गर्यौँ, ऐतिहासिक समीक्षा गरौँ ।’

समाजवादमा लैजाने उद्देश्यका साथ विगतको तीतो अनुभवसहित समाजवादी मोर्चा घोषणा गरिएको उनले बताए । मोर्चामा आबद्ध दलबीच एकता र स्वतन्त्रतालाई सम्बोधन गर्ने द्वन्द्ववादी मान्यतालाई संश्लेषण गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

परिवर्तनकारी सबै शक्तिलाई समेटेर नयाँ शिराबाट अगाडि बढ्ने एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न खोजिएको र यो नै वैज्ञानिक मार्ग भएको उनले स्पष्ट पारे । ‘फेरि एकपटक इतिहासबाट फर्केर हेरौँ । हामीले गर्न सकेका राम्रा काम र गर्न नसकेका कामलाई पनि हेरेर नयाँ आधारमा अगाडि बढ्न अपिल गर्दछु । यो नयाँ अभियान हो । सामाजिक न्याय, सुशासन र समृद्धितर्फ लैजाने प्रक्रिया अभियान हो’, प्रधानमन्त्री प्रचण्डले भने ।

परिवर्तनकारी नेता र परिवर्तनलाई होच्याउने, अपमानित गर्ने प्रतिगामी प्रवृत्तिले टाउको उठाउन लागेको उल्लेख गर्दै मोर्चा प्रतिगमनकारी शक्तिका विरुद्ध रहेको उनको भनाइ छ । अराजकता, निरङ्कुशतातर्फ मुलुकलाई लैजान चाहने शक्ति र प्रवृत्तिका विरुद्ध पनि मोर्चा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

समाजवादी मोर्चा बनाउन लामो छलफल र प्रक्रियाबाट गुर्जेको जानकारी दिँदै उनले यसको घोषणासँगै यसको औचित्य पनि स्थापित भइसकेको बताउनुभयो । प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध सडक, सदनबाट साझा प्रतिवादन गरिने उनको भनाइ छ ।

नेपाली जनतालाई सुशासन र समृद्धि दिनका लागि वर्तमान सरकार देश र जनताको पक्षमा दृढ भएर उभिएको प्रधानमन्त्रीको भनाइ छ । निराशालाई चिर्दै नयाँ उत्साहका साथ अगाडि बढ्ने सङ्कल्पका साथ मोर्चा घोषणा गरिएको र यसलाई देशव्यापी बनाइने बताए ।

पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ उभिएका छौँ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आम निर्वाचन अगाडि नै समाजवादी मोर्चा घोषणा गर्ने उद्देश्य राखिएको भए पनि तत्कालीन अवस्थाका कारण सम्भव नभए पनि हाल आएर सफल भएको बताए ।

मोर्चा स्वार्थ, सिद्धान्तहिन र विचारहीन मोर्चा नभएको उल्लेख गर्दै उनले पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताए । मोर्चा कोही कसैलाई फकाउन र कोही कसैलाई तर्साउनका लागि नभएको अध्यक्ष नेपालको भनाइ छ ।

‘कुनै पार्टीलाई घुक्र्याउन खोजेका होइनौँ, दबाब दिन खोजेको होइन । तिर्नै तर्सिछन्, जो अग्रगमनको पक्षमा छैनन् । मोर्चामा केही नयाँपन छ’, अध्यक्ष नेपालले भने, ‘२०४६ सालको जनआन्दोलनको बेलामा पनि वाम मोर्चा बनेको तथा २०६२/६३ मा पनि त्यस्तै परिवर्तनकारी मोर्चा बनेको थियो । विगतका यी माोर्चाको अनुभव सकारात्मक रहेको थियो ।’

सरकारमा रहेका र नरहेका शक्ति एक ठाउँमा उभिनु नै मोर्चाको नयाँपन रहेको स्पष्ट पार्दै अध्यक्ष नेपालले अग्रगामी चिन्तन बोकेको र मोर्चामा आबद्ध दलका बीचमा एकापसमा विश्वास रहेको एवं समानता रहेको बताए ।

उनले २०७४ मा नेपाली जनताले तत्कालीन नेकपालाई अत्यधिक मत दिएको भए पनि त्यसलाई रक्षा गर्न नसकिएको तथ्य पेस गर्दै विगतको अनुभवबाट शिक्षा लिएर अगाडि बढ्न चाहेको बताए । समाजमा अत्याचार, शोषण गर्नेलाई कुनै पनि छुट नदिन र दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष नेपालले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

मुलुकको समग्र पक्षको अध्ययन तथा विश्लेषण गरेर नेपाली विशेषतासहितको समाजवाद निर्माण गरिने दृढता व्यक्त गरे । ‘हामी सक्छौँ, हामी गर्न सक्छौँ भन्ने विश्वासका साथ अगाडि बढ्छौँ’, अध्यक्ष नेपालले भने, ‘कोही पनि निराश हुनु जरुरी छैन । आशावादी बनौँ ।’

मोर्चाको साझा लक्ष्य समाजवादी गणतन्त्र : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली जनताले वामपन्थी शक्तिलाई विगतमा दुई तिहाइ बराबरको मत दिएको भए पनि त्यसको नेतृत्वले बाटो बिराउँदा राजनीतिक उपलब्धि प्राप्त भए पनि आर्थिक रुपमा सबल बन्न नसकेको बताए ।

मुलुकको राष्ट्रियता सङ्कटमा रहेको, आर्थिक रुपमा समेत समस्यामा रहेको उल्लेख गर्दै उनले नेपाल र नेपाली जनताको समस्या समाधान गर्ने तथा देशभक्त तथा वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले मोर्चा आमूल परिर्तनको मोर्चा बनोस् भन्ने कामना गरे । तीन करोड नेपालीको साझा लक्ष्य नै समाजवादी गणतन्त्र भएको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले जातीय, भाषिक, भौगोलिक तथा वर्गीय विभेदको अन्त्यका जरुरी रहेको बताए ।

मोर्चा घोषणालाई पहिलो पाइला भएको उल्लेख गर्दै नेता खनालले परिवर्तनकारी शक्तिलाई एकै ठाउँमा उभिनका लागि आह्वान गरे । महिला, किसान, आदिवासी, जनजातिको समस्या समाधान गर्ने, आम जनतालाई सहज रुपमा स्वास्थ्य र शिक्षाका लागि परिवर्तकारी शक्ति एक ठाउँमा उभिनु जरुरी रहेको उनको भनाइ छ ।

जनतालाई थप अधिकार सम्पन्न बनाउने लक्ष्य राखिएको छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शोषित पीडित नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउने लक्ष्यका साथ आफूहरु साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताए ।

सङ्घीयता, गणतन्त्र, समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका अधिकारलाई कमजोर बनाउन प्रतिगमनका मतियारहरु लागिपरेकाले त्यसलाई असफल बनाउन अग्रगामी शक्तिहरु एकै ठाउँमा उभिनु परेको बताए ।

संविधानमा रहेको कमजोरीलाई सुधार गर्दै नेपाली जनतालाई थप अधिकारसम्पन्न बनाउने लक्ष्यका साथै आर्थिक क्रान्तिलाई अगाडि बढाउने एवं कृषि, उद्योग, ऊर्जा पर्यटन लगायतका क्षेत्रको विकास गर्न साझा धारणाका साथ एक ठाउँमा उभिएको अध्यक्ष यादवको भनाइ छ ।

आफ्नै देशका नागरिकलाई नागरिकताबाट वञ्चित बनाउने देश कुन हो भनेर सोध्दा सबैले नेपाल भन्ने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष यादवले सङ्घीय संसद्ले दुई–दुईपटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले रोकेका कारण समस्या उत्पन्न भएको बताए । राष्ट्रिय पूँजीको विकास, वैदेशिक लगानी भित्र्याएर मुलुकलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउने लक्ष्य मोर्चाले राखेको जानकारी दिँदै उनले वर्गीय, क्षेत्रीय एवं लैङ्गिक असमानताको अन्त्यका लागि साझा लक्ष्यका साथ मोर्चा बनाइएको स्पष्ट पारे ।

अध्यक्ष यादवले सबै दलका आ–आफ्ना राजनीतिक उद्देश्य रहे पनि साझा दृष्टिकोणका साथ एक ठाउँमा उभिएको र आगामी दिनमा यसलाई पूर्ण रुपमा सफल बनाएरै छाडिने प्रतिबद्धता व्यक्त गरे । उनले मोर्चालाई लिएर कोही कसैले पनि तर्सन जरुरी नरहेको र कोहीको विरुद्धमा पनि नभएको बताए । मुलुकको अग्रगमन, नेपाली जनताको हितका लागि परस्पर सहयोगका आधारमा अगाडि बढ्ने दृढता व्यक्त गर्दै अध्यक्ष यादवले प्रतिगमनका विरुद्ध साझा प्रतिवाद गरिने बताए ।

अन्याय र अत्याचारका विरुद्ध लड्नेहरु कहिल्यै हारेका छैनन् : महासचिव विप्लव
नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेपालमा थुप्रै खालका सङ्कटहरु रहेको, नागरिकहरु निराशमा रहेको तथा अन्योलता र आकाङ्क्षाको बीचबाट मुक्त गर्ने लक्ष्यका साथ आफूहरु एक ठाउँमा उभिएको बताए ।

पश्चगमनलाई परास्त गर्दै मुलुकको राष्ट्रिय एकताको संवद्र्धनका लागि आफूहरुले नेपालको इतिहासमा नयाँ प्रयोग गरेको र यसले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने सङ्कल्प गरिएको उनले बताए । मुलुकको नेतृत्व अग्रगामी, परिवर्तनकारी शक्तिले गर्ने र त्यो सम्भव रहेको महासचिव चन्दको भनाइ छ ।

मोर्चाले सहिद, बेपत्ता तथा सहिदहरुको सपना बोकेर आएको स्पष्ट गर्दै उनले आफ्नो देशलाई स्वाधीन र आफ्नै खुट्टामा उभिन सक्ने बनाउने विश्वास दिलाए । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, हालसम्म प्राप्त भएको राजनीतिक उपलब्धिको संरक्षण गर्दै नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि आफूहरु एकै ठाउँ उभिएको बताए ।

आम नेपाली जनतालाई निराश नहुन आग्रह गर्दै उनले निराशाले समाप्त पार्ने र विसर्जन गर्ने भएकाले आशातीत भएर उभिनुपर्नेमा जोड दिए । उनले भने, ‘अन्याय र अत्याचारका विरुद्ध लड्नेहरु कहिल्यै हारेका छैनन् र हार्ने छैनन् ।’ मोर्चाको अवधारणा बनाउनका लागि नेताहरु जनार्दन शर्मा, उपाध्यक्ष प्रवेश हमाल, खड्गबहादुर विश्वकर्मा र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो । रासस

सम्बन्धित समाचार