ओखलढुङ्गामा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु , एक बेपत्ता

अविरल वर्षासँगै पहिरोले घर पुरिँदा ओखलढुङ्गामा एकै घरका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश पहिरामा परी बेपत्ता भएका छन् ।



बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।

सम्बन्धित समाचार