नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असार ।
विभिन्न निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डि.डब्लु.सी. पाइपको उत्पादन शुरु गरेको छ । भारत, चीनलगायत विश्वका विभिन्न देशहरुमा केही दशक अगाडिबाट सफल प्रयोग भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी अत्याधुनिक प्रविधिसहितको मेशिनरी नेपालमा नै भित्र्याइ डि.डब्लु.सी. पाइप उत्पादन शुरु गरेको नेपाटपले जनाएको छ ।
नेपालमा डि.डब्लु.सी. (डबल वाल कोरुगेटेड) पाइपले उत्पादन तथा वितरण थालेसँगै सिमेन्टबाट निर्मित कङ्क्रिट ढल पाइप विस्तारै विस्थापित हुँदै जाने कम्पनीले दाबी गरेको छ ।
विगत दुई दशकभन्दा लामो अवधिदेखि विश्वका विभिन्न मुलुकहरुमा उत्पादन र प्रयोग हुँदै आएको डि.डब्लु.सी. पाइप कोरोगेटेड डिजाइनमा रहेको कम्पनीले जनाएको छ । हाल प्रचलित अन्तर्राष्ट्रि«य मापदण्ड तथा डिजाइनको परिधिभित्र रही १०० मिमिदेखि १२०० मिमिसम्म गोलाइका पाइप निर्माण भइरहेको कम्पनीले बताएको छ । त्यस्तै नेपाल गुणस्तर तथा नापतौल विभागले केही समयअगाडि पारित गरेको डि.डब्लु.सी. पाइपको मापदण्ड नेपाल गुणस्तर नम्बर ५९५ चिन्ह प्राप्तिको प्रक्रियामा रहेको कम्पनीको भनाइ छ ।
विगतमा छिमेकी मुलुक चीन र भारतबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरुमा प्रयोग हुँदै आएको उक्त पाइप स्वदेशी लगानी एवम् श्रममा नेपालमा नै उत्पादन शुरु गरेपछि विदेशबाट हुने आयात पूर्ण रुपमा ठप्प हुनेछ भने स्वदेशमा रोजगारी पनि सिर्जना हुने पनि कम्पनीले जनाएको छ ।
नेपालमा विगतदेखि प्रयोग भइरहेको सिमेन्टको कङ्क्रिट ढल पाइपको तुलनामा जडान गर्न छिटो, सजिलो र बलियो हुनुको साथै सामान्य जडानपश्चात् मर्मत संभारको झण्झट नहुने तथा लागत मूल्यसमेत सस्तो पर्ने कम्पनीको दाबी छ ।
नेपालको पुर्वाधार विकासमा डि.डब्लु.सी. पाइप साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द्र, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजनालगायतका क्षेत्रमा निक्कै प्रभावकारी हुने नेपाटपले जनाएको छ । यसमा सरकारले नीतिगत रुपमा सहयोग गरे मुलुकमा उद्योग प्रवद्र्धन हुनका साथै यसले नेपालको समग्र अर्थतन्त्रमा नै सुधार ल्याउन सक्ने नेपाटपले दावी गरेको छ ।