नवकान्तिपुर संवाददाता
काठमाडौं,१४ असार ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ९ हजार ४०० रहेकोमा बुधबार रु १ लाख १० हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ८ हजार ९०० सय रहेकामा बुधबार प्रतितोला रु १ लाख ९ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार ३७० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३७५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले जेठ १९ गते रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ७५० मा कारोबार भएको थियो ।