सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा भे.१ ख ३७५० नम्बरको गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ५० वर्षीय वाहित चिङ्गरियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ९ जना मध्ये अन्य ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई देउती नर्सिङ होम र २ जनालाई माया नर्सिङ होममा उपचारको लागि पठाइएको छ । प्रहरीले हाल फरार गाडी चालकको खोजी गरिरहेको छ ।



त्यस्तै सप्तरी, तिरहुत गाउँपालिका-५ मैनाकडेरीस्थित सडकमा स.७ प ७७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने मोहम्मद मजिदको छोरा १६ वर्षीय मोहम्मद महताजको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै ओखलढुंगा, लिखु गाउँपालिका-२ दाहालटारस्थित सडकमा ना.६ त ८७४६ नम्बरको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार लिखु गाउँपालिका-२ बस्ने १८ वर्षीया अप्सरा खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामेछाप, रामेछाप नगरपालिका-३ साँघुटारस्थित मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई मन्थली अस्पताल रामेछाप हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौंमा पठाइएको छ । यता महोत्तरी, सम्सी गाउँपालिका-४ गैडा चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री मनराशिस्वा नगरपालिका-४ साँदा बस्ने ४५ वर्षीय शैलेन्द्रको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । उता दाङ, राजपुर गाउँपालिका-५ जंग्रहवास्थित सडकमा रा.६ प ८९२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दंगीशरण गाउँपालिका-१ बस्ने ३४ वर्षीय तारा प्रसाद विकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै स्थानका दुर्घटना स्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार