सवारी दुर्घटनामा दुई जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सर्लाही, मलंगवा नगरपालिका-४ नवलपुरस्थित सडकमा बिआर ३० एच ४२४१ नम्बरको मोटरसाइकल र साईकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका साइकलयात्रीलाई थप उपचारको लागि वीरगंजतर्फ रिफर गरिएको छ ।



त्यस्तै सिरहा, लहान नगरपालिका-१३ स्थित सडक छेउमा बिग्रिएर रोकी राखेको प्रदेश १-०१-००१ क १३६७ नम्बरको टिपरमा म.प्र.०१-००४ प ३४८३ नम्बरको मोटरसाइकल शुक्रबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक लहान नगरपालिका-१८ शोभापुर बस्ने ३४ वर्षीय मोहमद इरफानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माँ धमिनी अस्पताल लहान हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त मोटरसाइकलले टिपर बनाई राखेका टिपरका सहचालकलाई समेत ठक्कर दिँदा घाइते भएका सहचालकको फ्रेन्डस मोडेल अस्पताल लहानमा उपचार भइरहेको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै स्थानका दुर्घटना स्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार