नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ । तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।