नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मोरङ, पथरी शनिश्चरे नगरपालिका-२ जयचोकमा ना.०६ ख १३७२ नम्बरको ट्रकले को.२ ह २३९३ नम्बरको अटोलाई आइतबार बिहान ठक्कर दिँदा अटो चालक पथरी शनिस्चरे नगरपालिका बोक्ररे चोक बस्ने ५५ वर्षीय भिम सरण तामाङको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मदनभण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ बरादी पेट्रोलपम्मस्थित सडकमा ग.२ ख १२३५ नम्बरको बसमा बा.प्र.०२-०१५प ६२३६ नम्बरको मोटरसाइकल ठोकिएर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङ सिम्जुङ गाउँपालिका-३ बस्ने २७ वर्षीय सागर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
घाइते भएका मोटरसाइकलमा सवार १ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । यता म्याग्दी, रघुगंगा गाउँपालिका-३ दुलेपानीस्थित सडकमा ग.१ त ७२८१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ मालिका बस्ने २३ वर्षीय सुजन परियारको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै भक्तपुर, सूर्यबिनायक नगरपालिका-७ गुण्डु तिनधारेस्थित सडकमा बा.९३ प ५८८१ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटीको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको ङा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।