नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असार ।
नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि बिहीबारै प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । उनलाई नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का चार, जनता समाजवादी पार्टी (जसपा) का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी दाबी पेश गरेका हुन् ।
यसअघि गत असार १८ गते बसेको सत्तारूढ गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा बढी सङ्ख्या भएकाले थापालाई मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल विस्तार गर्ने निर्णय भएको थियो ।