नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असार ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३ पानीपोखरीस्थित सडकमा बा.८२ प १२२५ नम्बरको मोटरसाइकललाई बा.५ ख ३१९३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-४ चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना गौचनको बुधबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै ग्राण्डी अस्पताल टोखामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधनको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-४ सानो महुवारीस्थित सडकमा लु.७३ प ८९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय बडखरी यादवको बुधबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भारतको कक्रहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बिद्युत कार्यालय नजिक सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.८३ प ४१९३ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१७ देवगाउँ बस्ने २८ वर्षीय निरन्जन केवटको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्रीको भिम अस्पताल भैरहवा हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ । यसैगरी सिरहा, अर्नामा गाउँपालिका-१ बुढियाचापस्थित सडकमा बा.१ ज ६७९८ नम्बरको लालिगुराँस ऐकेडेमी बोर्डिङ स्कुल अर्नामाको स्कुल बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय सम्भु मिश्राको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।