नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।
सरकारले असार १९ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, भन्सार तथा लजिष्टिक सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने पाँच करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय
भन्सार तथा लजिष्टिक सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने पाँच करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय
एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रशारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय
नेपाल न्याय सेवा, कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय
थाइल्याण्डको बैंककमा हुने फोर्थ हाइलेभल पोलिसी फोरम मल्टीनिगल एजुशकेशन कार्यक्रम र सेभेन्थ इन्टरनेशनल कन्फ्रेन्स अन ल्याङ्ग्वेज एण्ड एजुकेशन विषयक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीलाई सहभागी हुन स्वीकृति दिने निर्णय
निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय
पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजना अन्तर्गत सडक सीमाभित्र पर्ने कास्की जिल्लाको रुडीखोला भैंसे सडकखण्डका घर टहरा हटाउन स्वीकृत दिने निर्णय
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि–२०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय
हुलाक बचत बैंकमा रहेका बचतकर्ताको खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय