नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बैतडी, मेलौली नगरपालिका-७ तुवाखान भन्ने स्थानमा लु.२ ख २०११ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा बसमा सवार पञ्चेश्वर गाउँपालिका-६ रन्तोली बस्ने २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ३८ जनामध्ये १३ जनाको सोही स्वास्थ्य केन्द्रमा र अन्य २५ जनालाई थप उपचारका लागि अस्पताल डडेल्धुरा पठाइएको छ ।
त्यस्तै नुवाकोट, ककनी गाउँपालिका-१ सिमटारस्थित सडकमा प्र.०३-००१ क ०५३६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४३ वर्षीय मोहन कृष्ण बलामीको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका-१० किरनटारस्थित सडकमा साइकलबाट लडेर सोही नगरपालिका-१० खहरे बस्ने ३० वर्षीय कल बहादुर चेपाङको आइतबार दिउँसो मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।