नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।
सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । आज (मंगलबार) बिहान करिब १० बजे पाँच विदेशी यात्रु बोकेर उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए भने यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए । हेलिकप्टरमा मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए ।
चालकसहित ६ जना उडेको सो हेलिकोप्टर सोलुखुम्बुको लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् ।
सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए ।