आज २१०औँ भानुजयन्ती, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको आज २१०औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकिकरण गरेको बताइन्छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएपछि उनले रामायणलाई नेपालीमा भावनुवाद गरेका थिए । भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचनालगायत कृति प्रकाशित छन् ।



कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै – ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली,’ भन्दै कटाक्षसमेत गरेका थिए ।

दुई सय दशौँ भानु जयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डको उपस्थिति रहने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार