सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-१७ कान्छिचोकस्थित सडकमा डब्लुबि ७३ ई ९११७ नम्बरको बोलेरो गाडी र को.२९ प ३७१२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकामध्ये इटहरी उपमहानगरपालिका-१६ उब्दी बस्ने २६ वर्षीय करण चौधरी र २७ वर्षीय शम्भु चौधरीको धरान घोपामा तथा सोही ठाउँ बस्ने २४ वर्षीय अनिनेश चौधरीको बिएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बोलेरो गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका-१५ हात्तीबन पुल नजिक बा.३ ख ४१०८ नम्बरको बसले बा.५६ प ३४५२ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौंको काठमाडौं महानगरपालिका-३१ शान्तीनगरस्थित सडकमा बा.१ ह ३८८४ नम्बरको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका-१ घर भई काठमाडौं शान्तीनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त टेम्पुको ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्री मध्ये १ जनाको केएमसी अस्पताल सिनामंगल र १ जना सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ रातमाटेस्थित सडकमा प्र.१-०२-००१ ख ८०२९ नम्बरको ट्रकले बा.प्र.०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-७ बस्ने २५ वर्षीय कृष्ण श्रीवास्तबको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको बिएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार