नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।
अवैध रूपमा भित्रिएको झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । आइतबार राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीसहित थप छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तीनजना भन्सारका कर्मचारी र तीनजना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना छन् । पक्राउ पर्नेहरूमा भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली रहेका छन् ।
उनीहरूसँगै अहिलेसम्म उक्त प्रकरणमा १६ जना पक्राउ परेका छन् । गत बुधबार रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ ।