कविता : मन्त्रीका मान्छे

मन्त्रीका मान्छे
शक्तिको नाप
कुटनीतिक चापमा
अनेकौं विचारको खेती गर्छन्
प्याथोक्रेसीमा
रणनीतिक बुटी
भान्साको डाडु पनेऊ
दिल्ली टोन र अमेरिका स्केच
सन्तुलित पार्दै
चीनलाई आँखा सन्काई रहेछन्
र, ती विचराहरू भन्दैछन्–
आतङ्कवादी जत्थालाई क्रेडिट दिनु हुन्न !

विचारीभन्दा ठूला सुँडेवाल-भुँडेवाल
महाविचारीहरू भन्दैछन्–
‘यो कलिको राज्य हो
यहाँ पापको फलिफाप हुन्छ’
सीमाना अतिक्रमण
तोतो बोलीमा विमति दर्ज
गति न मतिको ‘हुक’ सिद्धान्त
सबैले यस्ता ‘हेलमेट’ लगाइरहेछन्
हिन्दु सर्वोच्चताभित्र
मन्त्रीका मान्छे
बहुरुपिया सत्ताको दीर्घायु खातिर
बोक्रे भक्तिको ढोलक बजाइरहेछन्
चौंसठ्ठी कलाले निःपूर्ण छन्
दूधले नुहाएकाहरू भन्दछन्–
‘हरेक मानिसभित्र जनवार छिपेको हुन्छ ।’



माटोलाई देउता बनाउँदै
मन्त्रीका मान्छेहरू
बहुध्रूर्वियताको घेराभित्र
धर्म संस्कृति राजनीतिको
‘फल्ट लाइन’ चलाइरहेछन्
तालाचाबी त्रिजटासँग छन्
मन्त्रीका मान्छेहरू
विश्वशान्तिको ढोंग मच्चाइरहेछन्
भित्तेचित्रमा उपनिवेश जिउँदै छ
अज्ञयवादीहरू रसेलको ‘इन्डक्टिनेट’ लाई घृणा नगर
बरू वसन्त क्रान्ति गर ।

हालः टिकाथली, ललितपुर ।

सम्बन्धित समाचार