नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयले उनलाई बर्खास्त गरिएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटनामा निलम्बनमा परेका केसीलाई गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई मंगलबार बर्खास्त गर्नुभएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
यसअघि प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो साता गृह मन्त्रालयमा सिफारिस गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले केसीको निवासबाट प्रहरी टोलीले ३५ तोला सुन २५ लाख रुपैयाँ र चेक पनि बरामद गरेको थियो । प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सीआईबीले अनुसन्धान थालेको थियो।
केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग रकम मागेको सूचना पाएपछि सीआईबीले छानबिन गरेको थियो । उनले व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ ।