नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिका नाममा अपवित्र काम गर्न नहुने र सबै दल फोहर नै छन् भन्ने भाष्य निर्माण गरिनु गलत भएको बताएका छन् । सोमबार एमालेको केन्द्रीय संस्कृति विभागले सो पार्टीको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको युगदूत पत्रिकाको विमोचन र खीर खाने कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहर हुन नहुने जनाए । नेपाली ज्ञानको परम्परा गौरवयुक्त भएकोले वर्तमानमा लेखिरहेका साहित्यकारले सामाजिक यथार्थ र सुन्दर भविष्यको रेखा कोर्ने गरी कलम चलाउनुपर्नेमा उनको जोड थियो ।
त्यस्तै एमाले विभागका प्रमुख रघुजी पन्तले युगदूतलाई पार्टीको साहित्यिक मुखपत्रका रूपमा नियमित प्रकाशन गर्ने जानकारी दिए ।