कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: कांग्रेसका उद्धव थापा नियुक्त

नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा पुन: कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि मंगलबारै प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।  उनलाई नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जनता समाजवादी पार्टी (जसपा) का एक को समर्थन रहने गरी दाबी पेश गरेका हुन् ।



नेपालको सविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् भने बिहीबार बिहान १०ः३० बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ ।

यसअघि सर्वोच्च अदालतको आदेशपछि थापा २२ दिनमै मुख्यमन्त्रीको पदबाट पदमुक्त भएका थिए । प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न मंगलबार ५ बजेसम्मको समय दिएका थिए ।

सम्बन्धित समाचार