नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।
सरकारले साउन १६ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले फास्ट ट्र्याकसम्बन्धी खोकनाको जग्गा विवाद समाधान गर्न गठित समितिको म्याद थप गर्ने,खाद्य तथा पोषण सुधार कार्यकक्रम दोस्रोका लागि करिब २ अर्ब ६२ करोड रुपैयाँ अनुदान प्राप्त गर्न अन्तिम रुप दिनका लागि वार्ता समिति गठन गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिब दुई अर्ब ६२ करोड बराबर) अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयको सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय
पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा सार्वजनिक संस्थान सुझाव समिति गठन भएको थियो, त्यो समितिको म्याद सकिएको अवस्थामा अहिले दुई महिना म्याद थप गर्ने निर्णय
इस्टेण्डिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एण्ड डेभलप सर्भिस डेलिभरी कार्यक्रम उपकार्यक्रम एकको लागि एसियाली विकास बैंकबाट सय मिलियन अमेरिकी डलर करिब रु १३ अर्ब १३ करोड बराबरको बजेटरी सहायताको रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिने विषयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय
काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०–०१–०५ गतेको निर्णयअनुसार उपप्रधान एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय
दीगो भूव्यवस्थापनमार्फत् लखनदेही नदी बेसिनका जलाधारहरूको पुनःउत्थान, जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जिइएफ) बाट प्राप्त हुने १५ लाख ५५ हजार ५ सय ५ अमेरिकी डलर करिब २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय
निक साइमण्ड्स इन्स्टिच्युटले विश्व स्वास्थ्य संगठनबाट प्राप्त गर्ने पुरस्कार रकम अमेरिकी डलर २० हजारमा असुल गर्नुपर्ने आकस्मिक लाभकर आर्थिक ऐन २०८० को दफा १८ को उपदफा १ बमोजिम छुट दिने
बीउ बिजन ऐन, २०४५ को दफा ३ को राष्ट्रिय बीउ बिजन समितिको सदस्यहरूमा उपदफा ३.२ को खण्ड ३.२९ बमोजिमको सदस्यमा बीउ बिजन उद्यमीहरू अग्निप्रसाद अर्याल, शारदा निरौलालाई नियुक्त गर्ने साथै सोको खण्ड ३.२.१० बमोजिमको सदस्यमा बीउ बिजन उत्पादक कृषकहरू रामजीप्रसाद सापकोटा र प्रेमाकुमारी अधिकारीलाई नियुक्ति गर्ने निर्णय
नागढुंगा सुरूङ मार्ग आयोजनाको पश्चिम खण्डको पहिरो रोकथाम गर्न बनाइने पक्की संरचनाका लागि धादिङ जिल्ला साविक नौबिसे गाविस वडा नम्बर ४ को ४२१.९६ वर्गमिटर जग्गा प्राप्ति गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति दिने निर्णय
कमला–ढल्केवर–पथलैया सडकखण्ड स्तरोन्नतिका लागि सडक सीमाभित्र पर्ने घर टहरा लगायतका संरचना प्राप्ति गरी क्षतिपूर्ति दिई हटाउन स्वीकृति दिने निर्णय
नेपाल विद्युत प्राधिकरणलाई मातातीर्थ मान्टा ३३ केभी प्रसारण लाइन आयोजनाको टावर प्याड राइट अफ वेका निर्माणका लागि काठमाडौं ललितपुर र मकवानपुर जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा २४.७५०२५ हेक्टर जग्गा २० वर्षसम्म प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका ४ हजार १७२ वटा रुखहरु हटाउन स्वीकृति दिने निर्णय
तल्लो सेलाङ खोला जलविद्युत आयोजनाको पूर्वाधारहरू निर्माण गर्न सिन्धुपाल्चोक जिल्लाको राष्ट्रिय वन क्षेत्रको जम्मा ५४ वटा रूखहरू हटाउन र कुल जम्मा २.४९ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने निर्णय
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफासि समिति गठन गर्ने र सोही उपदफाको खण्ड ग बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राध्यापक डा. लोचना श्रेष्ठलाई तोक्ने निर्णय
मन्त्रिपरिषद् आर्थिक पूर्वाधार समितिबाट पेश भएको जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूल राष्ट्रिय कार्यान्वयन योजना स्वीकृत गर्ने निर्णय
मन्त्रिपरिषद्को विधेयक समितिबाट पेश भएको विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली २०८० लाई पनि स्वीकृत गर्ने निर्णय
मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय
मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको श्रम पहिलो संशोधन नियमावली, २०८० स्वीकृत गर्ने निर्णय