नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
नेपाली क्रिकेटर तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार एक पत्रकार सम्मेलन गर्दै मल्लले आफूले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय खेलसँगै घरेलु प्रतियोगिता पनि नखेले बताएका छन् । सन् २००६ मा आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले आफूले खेलमा शतप्रतिशत दिन नसकेकाले टिमबाट राजीनामा दिने निर्णय गरेको बताए ।
उनले क्रिकेट नखेले पनि आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्न इच्छुक भएको उल्लेख गर्दै करिब १८ वर्षसम्म चन्द्रसूर्य अङ्कित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा मल्लले खुसी व्यक्त गर्दै आफ्ना परिवार र समर्थकलाई धन्यवाद दिए ।
मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘प्रकृतिको नियमअनुसार जन्मपछि मृत्यु अवश्यम्भावी छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई ‘रिप्लेस’ गरेको थिएँ होला, यो मेरो समय हो । त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा बिराम लगाएर एउटा फरक तरिकाले नयाँ सुरुआत गर्ने निर्णय गरेको छु । इमान्दारीका साथ भन्नु पर्दा अहिले मेरो मन मुटु भारी भइरहेको छ । जुन खेलले मलाई यहाँ सबैमाझ चिनाउन सफल भयो, मान प्रतिष्ठा दियो, सोही खेलबाट बिदा लिन पक्कै सजिलो छैन ।’
विसं २०७६ कात्तिकदेखि कप्तानीको भूमिका निर्वाह गरेका मल्ललाई नेपाल क्रिकेट संघ (क्यान) ले २०७८ मङ्सिर २९ मा कप्तानी पदबाट हटाएको थियो । ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा क्यानले अनुशासनको कारबाही गर्दै कप्तान पदबाट हटाएको थियो ।
पछिल्लोपटक सन् २०२३ को जुलाईमा जिम्बावेमा भएको आइसीसी एकिदवसीय विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल उनको खेल जीवनको अन्तिम खेल बन्यो । मल्ल सन् २००५ मा यू–१५ टोलीको सदस्य रहेका थिए । यसै समयमा मल्ल यू–१७ र यू–१९ टोलीमा परेका थिए । ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ रन बनाएका छन् भने ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ८८३ रन बनाएका छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा शतक बनाएका छन् ।