नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।
काठमाडौं, तारकेश्वर नगरपालिका-५ च्वँगाउँ कृष्ण मन्दिरस्थित चन्द्र तामाङको टहरो वर्षाका कारण शनिबार राति पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा उक्त टहरोमा डेरा गरी बस्ने नुवाकोट सामरी गाउँपालिका घर भएका ४१ वर्षीय गणेश तामाङ र उनकै छोरी १४ वर्षीया आस्मा तामाङ रहेका छन् । पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा उद्धार गरी उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
साथै पहिरोमा पुरिएर घाइते भएकी गणेशकी श्रीमती ३५ वर्षीया सन्जु तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।