सुन प्रकरणका आरोपीलाई सात दिन हिरासतमा राख्न अनुमति

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेपछि सोमबार एक सय  किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ ।

राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएकामा प्रहरीले अनुसन्धान थालेपछि सोमबार काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक म्याद मिलान गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।



म्याद मिलानपछि सोमबारै उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट सीआईबीलाई अनुमति प्राप्त भएको छ । “आज म्याद मिलान गरी आजै सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति प्राप्त भएको छ, अब अनुसन्धान टोलीले मिसिल अध्ययन गर्दै थप अनुसन्धानको काम अघि बढाउने छ”, प्रवक्ता कडायतले भने । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गर्न टोली गठन गरेको छ ।

आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सीआईबीले सोमबारदेखि अनुसन्धान थालेको हो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अनुसन्धान गर्ने जिम्मा सीआईबीले लिएको हो । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’ मा हालेर ल्याइएको अन्दाजी सय किलो सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।

सम्बन्धित समाचार