नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।
रोल्पामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने १९ यात्रु घाइते भएका छन् । मंगलबार रोल्पा, त्रिवेणी गाउँपालिका-७ तिलास्थित सडकमा बागमारादेखि घोराहीतर्फ जाँदै गरेको ना.५ ख २६१२ नम्बरको बस करिब १ सय ५० मिटर तल खोल्सामा खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा रोल्पाको माडी गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रकाश बाठा, सोही गाउँपालिका- ४ बस्ने ५१ वर्षीय गोर्खे डाँगी, उनकै श्रीमती ५० वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका- ३ बस्ने ४६ वर्षीय भक्त बिक रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य १८ जनामध्ये १६ जनालाई उपचारका लागि दाङतर्फ र २ जनालाई स्वास्थ्य चौकी तिला रोल्पामा पठाइएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । बस सडकदेखि करिब एक सय ५० मिटर तल खसेको थियो । बस चालकलाई प्रहरीले नियन्त्रण लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।