नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।
बजारको माग अनुसार बदलिंदो समय एवं नवीनतम आकर्षक योजनाहरुलाई समेट्दै आएको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ग्राहकहरुको आवश्यकतालाई हरसम्भव पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकहरुले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्थासमेत बैंकले गरेको छ ।
बैंकले ग्राहकहरुको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्युनतम २५ लाखदेखि अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्युनतम ब्याजदर कायम गरिएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।
त्यसैगरी बैंकले ल्याएको न्युनतम ५० लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको छ ।