नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । म्याग्दी, अन्नपूर्ण गाउँपालिका-७ घराम्दी खोलाको किनारमा सोही गाउँपालिका-७ कुटुका बस्ने २६ वर्षीय कुमार तिलिजा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै संखुवासभा, मकालु गाउँपालिका-५ फाक्सिन्दाबेशीस्थित अरूण तेस्रो जलविधुत आयोजना अन्तर्गत जेपी कम्पनीको मेकानिकल डिपार्टमा काम गर्ने जुनियर सुपर भाईजर सोही गाउँपालिका-२ सेदुवा बस्ने ४३ वर्षीय अमर बहादुर राई आफ्नै क्वाटरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै इलाम, सूर्योदय नगरपालिका-१४ चुम्बाङ बस्ने ६८ वर्षीय प्रेम प्रसाद रेग्मी आफ्नै गोठमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, मेचिनगर नगरपालिका-८ निन्दा खोलाको बगरमा सोही नगरपालिका-१० धुलाबारी बस्ने ३८ वर्षीय सबिन मेचे शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी तेह्रथुम, आठराई गाउँपालिका-१ डाँडागाउँ बस्ने २४ वर्षीया दमन्ता श्रेष्ठ भन्ने रेशिका श्रेष्ठ आफ्नै घर नजिक रहेको सुँगुरको खोरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । साउन १४ गतेदेखि हराएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सुँगुरको खोर मुनी गाडिएको अवस्थामा शव फेला पारेको हो । हाल फरार मृतकको श्रीमानको खोजी तथा थप अनुसन्धान भइरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।