नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।
सिरहाबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । सिरहा नगरपालिका-१७ माडर टोलबाट स्रोत नखुलेको ८ लाख २ हजार नेपाली रूपैयाँ र ४६ हजार १ सय भारतीय रूपैयाँसहित शुक्रबार दिउँसो प्रहरीले एज जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४८ वर्षीय सञ्जीव कुमार साह रहेका छन् । उनलाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.१२ प १६३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।