सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ

जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने भएकी छिन् ।

सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा सपथलिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनले भने, ‘हामीले उहाँको नाम धेरै अघिदेखि पठाएका थियौँ । भोलि बिहान १० बजे राष्ट्रपति भवनमा सपथका लागि खबर आएको छ ।’



जनमत पार्टीको सचिवसमेत रहनुभएका साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । मन्त्रालयको जिम्मेवारी पाउने खबरले आफू उत्साहित र जिम्मेवार महसुस गराएको साहले रासससँग बताइन् ।

;पार्टीबाट स्थानीय तहमा उम्मेदवारीको अवसर पाएको थिएँ’, उनले भनिन् , ‘पार्टीको हरेक तहतप्कामा दिएको जिम्मेवारी कुशलताका साथ निर्वाह गरेँ । अहिले पार्टीले विश्वास गरेरै यो जिम्मेवारी दिएको छ । उत्साहित छु, जनताप्रति उत्तरदायी हुने प्रयास गर्नेछु ।’

साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् । उनी किसान आन्दोलनको अग्रमोर्चामा सहभागी भएकी थिइन् । धनुषा जिल्लाको पार्टी इनचार्जको जिम्मेबारीसमेत निर्वाह गरिसकेकी साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो ।

यसअघि उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिएकी थिइन् । उनी जनकपुरमा भएको पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष समेत बनिन् ।

विसं २०३९ मा औरही गाउँपालिकामा जन्मिएकी उनले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गरेकी छिन्  । ‘वोरेक नेपाल’ नामक संस्थासँग आबद्ध भएर काम गरेकी उनी एक दशक महिला अधिकार र समाजसेवासम्बन्धित काममा आबद्ध थिइन् ।रासस

सम्बन्धित समाचार