नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-६ बौद्ध भाटभाटेनी नजिक बा.५ ख ६३९४ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका २३ वर्षीय भिमराज तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै झापा, कमल गाउँपालिका-५ स्थित सडकमा बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले मे.७ प ४६४४ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-४ बस्ने ६७ वर्षीय डोर प्रसाद खनालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै धनुषा, हंशपुर नगरपालिका-९ बालगंगा चोकस्थित खेतमा प्र.२-००२ त ८२९ नम्बरको ट्याक्टर हिलोमा फसेर निकाल्ने क्रममा ट्याक्टरमा जोडिएको रोटाभेटर र इन्जिनको बीचमा च्यापिएर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय मुकेश पंजियारको मंगलबार राति मृत्यु भएको छ ।
ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यसैगरी धनुषा, लक्ष्मीनिया गाउँपालिका-७ स्थित सडकमा ज.१ च १६६९ नम्बरको बोलेरो पिकअपले प्र.२-०२-००३ प ९१५८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी औरही गाउँपालिका-१ बस्ने २५ वर्षीय पप्पु यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी पिकअपमा सवार १ जनाको स्थानीय सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता दाङ, तुलसीपुर उपमहानगरपालिका-८ चमेखोलास्थित सडकमा रा.४ प ९९०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सल्यान बागचौर नगरपालिका-२ बस्ने २६ वर्षीय कमल डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।