नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदौ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ । शनिबार बिहान करिब ५ बजे तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक दुर्घटना भएको हो ।
बस अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
यस्तै अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाम परी घाइते हुनेमा सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।