कविता : माइतीघरको नेक्सस

प्यारो माइतीघर !
सङ्घर्ष जारी राख
तोड–अनादिकालदेखिको छेकबार
सत्ता सधैँ भुमरी पारिरहन्छ
आशै आशका श्रृङ्खलामा
हिलाम्मे अँध्यारो खाल्टो पुर्न
विद्रोहका पाइला अघि बढाऊ; निरन्तर
द्वन्द्व पानी फोका हो,
तस्करका गिरोहसँग सन्धि सम्झौता नगर
घन्काऊँ भीमकाय आवाज
कुनै आकाश खसेको छैन भन्ने
दुस्मनहरू थर्किऊन् तिम्रो नाराबाजीले
बुझाउँ– राष्ट्रको जीवन अस्वस्थ छ
ट्रान्जिटमा परेको छ– संघीयता
ढिलो नगर
गर्नुछ– वामाचारको पोष्टमार्टम्
प्यारो माइतीघर, दक्षिणपन्थी झोलेहरूलाई
खारेज गर वाद विवादको माथापच्चिसी नगरी
तिम्रै सडकमाथि घाइते छ– मानवतावाद
बगरको ठुटो होइन– सपना
दुष्ट शासकको डक्ट्रिनमा नबगाऊ– तिम्रो गन्तव्यलाई
अझै बहादुरी देखाऊ
सहिदहरू पवित्र हुन पाएकै छैनन्
‘नेक्सस’ पत्ता लगाऊ– गणतन्त्रको
घामपानी इन्द्रेणी छ– तिमीसँग, आउ
उद्घोष गर– गणतन्त्र नेपालको जय होस्
उद्घोष गर ….

हाल : टिकाथली, ललितपुर ।



सम्बन्धित समाचार