धादिङमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, १७ घाइतेको उद्धार

धादिङमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने १७ घाइतेको उद्धार गरिएको छ । बुधबार काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा दुर्घटना भएको हो ।

बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।



दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने उद्धार गरिएकाहरुमा १३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको र चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बस नदीमा डुबेकाले यात्रु डुबेको या खोलाले बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन् । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार