नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।
मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।
मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् भने विन्दु रावलले २० र काजल श्रेष्ठले अविजित रहँदै १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कुवेतका लागि मरिन्मा हैदरले चार विकेट लिइन् भने मरयाम ओमरको भागमा २ विकेट रह्यो ।
९० रनको लक्ष्य लिएर मैदान उत्रेको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र बनायो । कुवेतका लागि जिफा जिलानीले ११ र खादिजा खलिलले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् भने खुसी डङ्गोलले २ विकेट लिँदा ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरको भागमा समान १-१ विकेट रह्यो ।
यसअघि हिजो मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो । जारी सिरिजमा नेपाल २ खेलमा २ जित हात पार्दै ४ अङ्क जोड्दै शीर्ष स्थानमा छ । अब नेपालले आफ्नो तेस्रो खेल शुक्रबार घरेलु टोली मलेसियासँग खेल्नेछ । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलेका हुन् ।