नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदौ ।
समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा आयोजक मलेसियासँग पराजित भएपनि नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
नेपाल नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । फाइनल खेल शनिबार हुनेछ । समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान ४-४ अङ्क भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनायो । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले २३ रन बनाइन् भने इन्दु बर्माले २० र काजल श्रेष्ठले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिनलायक प्रदर्शन गर्न सकेनन् । मलेसियाका लागि नुर दानिया सुहादा, माहिरा इजाती इस्माइली र आइना हमिजाह हासिमले समान २-२ विकेट लिए ।
८४ रनको विजय लक्ष्य लिएर मैदान उत्रेको मलेसियाले १६ दशमलव दुई ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । मलेसियाका लागि अइना हसिमले अविजित रहँदै ३७ रन बनाइन् भने इजाती इम्माइलले २१ रन जोडिन् ।नेपालका लागि पूजा महतो, रुबिना क्षेत्री बेलबासे र सीता राना मगरले समान १-१ विकेट लिए ।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित हुँदा दोस्रो खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेको थियो । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप चार टोलीले उक्त सिरिज खेलिरहेका छन् ।