सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ग.१६ प ६९६८ नम्बरको मोटरसाइकल र बा-प्र-०१-००४ क ०५७३ नम्बरको ट्याङकर एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदामोटरसाइकल चालक पर्वत घर भएका ५८ वर्षीय हर्क बहादुर सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० नहर चोकस्थित सडकमा ना.४४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-११ पारिजात टोल बस्ने ९१ वर्षीय बेद प्रसाद सापकोटाको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रूपन्देही, शुद्धोधन गाउँपालिका-६ बेलहियास्थित सडकमा मानपकडीबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.१९ प ९४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय श्याम सुन्दर लोधको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार