हङकङलाई पराजित गर्दै नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

मलेसियामा सम्पन्न चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार  भएको फाइनल खेलमा हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले ब्याटिङ गरिरहँदा भारी वर्षा भएर खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै १०१ बनाएको थियो । हङकङका लागि यिङ चानले २९ रन बनाइन् भने मारिना एन्तोनियाले १९ रन जोडिन् । यस्तै शान्जिन शाहजाद १४ रनमा अविजित रहँदा याशमिन दासवानीले ११ रन बनाइन् ।



नेपालका लागि खुशी डङ्गोलले ३ विकेट लिइन् भने अश्मिना कर्माचार्य र कविता जोशीको भागमा समान १-१ विकेट रह्यो । १०२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकिएको थियो । उक्त अवस्थामा नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । नेपालको लागि इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनको अवस्थामा खेलिरहँदा भारी वर्षा अत्यधिक भएपछि खेल पुनः सुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो । खेलको प्लेयर अफ दी म्याच नेपालकी खुशी डङ्गोल भइन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले, दोस्रो खेलमा कुवेतलाई ३४ रनले र तेस्रो तथा अन्तिम खेलमा नेपाल मलेसिायासहित ६ विकेटले पराजित भएको थियो ।

महिला टी–ट्वान्टी सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतको सहभागिता रहेको थियो । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप चार राष्ट्रले उक्त सिरिज खेलेको हो ।

सम्बन्धित समाचार