नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।
पाल्पाको पहिरोले स्कार्पियो पुर्दा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बुधबार साढे ८ बजे गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप पहिरोले पुरिएको थियो ।
जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवलदार यम बहादुर बोहरा, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ७ भुजेलखर्क बस्ने वर्ष ५० की मनकला चुदारा र पोखरा महानगरपालिका–२५ का शिक्षक विनोद तिमिल्सिना रहेका छन् ।
त्यस्तै दुर्घटनामा घाइते भएका आठ जनालाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।