नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।
जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् । झापा, दमक नगरपालिका-२ पाङनी डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका-५ चपेटी घर भएका हिमाल राईको चुलाचुली सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा राईसहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्द र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित जगत चौधरीको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय बिबेक चौधरी लगायत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालयय घोराहीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४७ हजार ३ सय र ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।