एनआर घिमिरे
काठमाडौं, १७ भदौ ।
नेपाली काँग्रेस पार्टीभित्रको रूपान्तरण अभियानकर्ताले राष्ट्रब्यापी अभियान चलाउने घोषणा गरेका छन् । नेपाली काँग्रेसले पार्टी शुद्धीकरण गर्ने भन्दै कार्यकर्ताको तल्लो तहसम्म जाने निर्णय स्थगन गरेपछि रूपान्तरण समूहले देशैभरि कार्यक्रम गर्ने घोषणा गरेको हो ।
साउन १० गतेदेखि भाद्र २४ गतेसम्म राष्ट्रब्यापी कार्यक्रम गर्ने निर्णय गरिएको भए पनि शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरी कार्यक्रम तत्कालका लागि स्थगित गरेका थिए । काँगे्रस रूपान्तरण अभियानकर्ताले भने शनिवार काठमाडौंमा बैठक बसी निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रब्यापी अभियान चलाउने निर्णय गरेका हुन् ।
‘पार्टीले गर्ने भनेको कार्यक्रम गरेको भए हामी पार्टीलाई नै साथ दिनेथियौं तर पार्टीले अभियान नै रोकेपछि रूपान्तरण अभियानले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेका हौं’ अभियानका नेता जगदीश्वरनर्सिङ्ग केसीले अनलाइन पत्रिका नवकान्तिपुरलाई भने । पार्टीलाई थप गतिशील बनाउन र रूपानन्तरण गर्नका लागि देशैभरिका निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न लागिएको पनि उनले बताए । ‘पार्टीले निर्धारित गरेको कार्यक्रम नरोकेको भए हामी पनि त्यसैमा सहभागी हुन्थ्यौं । सिङ्गौ पार्टीले गरेको कार्यक्रम हाम्रो पनि कार्यक्रम हो तर कार्यक्रम नै स्थगित भएपछि अभियानकर्ताहरू आफ्नो कार्यक्रम लिएर अघि बढने छन्’ नेता केसीले थपे ।
कार्यक्रममा रूपान्तरण अभियन्ता नेताहरू गुरूराज घिमिरे, मधु आचार्य, भुपेन्द्रजङ्ग शाही र जगदीश्वरनर्सिङ्ग केसी लगायत थिए । रूपान्तरण अभियान बिपी जन्मजयन्तीदेखि गणेशमानसिंह जन्मजयन्तीसम्म जारी राख्ने अभियानकर्ताहरूले बताएका छन् ।
निर्वाचन केन्द्रित रूपान्तरण अभियान कार्यक्रम भदौ २४ गते काभ्रे क्षेत्र नम्बर २ बाट सुरू हुनेछ । पार्टी सभापति शेरबहादुर देउवाले विधिविधानअनुसार पार्टी नचलाएकोले जनजागरण कार्यक्रम गर्नु परेको रूपान्तरणका पक्षले जनाएको छ् । नेता शेखर कोइराला र महामन्त्री गगन थापा निकट नेताहरूले रूपान्तरण कार्यक्रमअन्तर्गत नेता तथा कार्यकर्ताहरूसँग बहस तथा छलफल गर्दै आएका छन् ।