सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बा.३ ख ४८४८ नम्बरको बस र बा.६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोक्किएर बा.प्र ०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सर्लाही शान्तिटोल बस्ने २१ वर्षीय राज भट्टराई र स्कुटरमा सवार दोलखा बैदेश्वर गाउँपालिका-२ घर भएकी २५ वर्षीया उषा थापा रहेका छन् । दुर्घटनामा घाइते भएका १४ जनामध्ये ८ जनालाई मदल्यान्ड अस्पताल पेप्सिकोला र ६ जनालाई सिभिल अस्पताल नयाँ बानेश्वर लगिएकोमा उपचारको क्रममा उनीहरू दुई जनाको मृत्यु भएको हो । अन्य १२ जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।



बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । त्यस्तै सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ पाँच किलोस्थित सडकमा बा.१५ च ९३७० नम्बरको स्कारपियो  अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक काठमाडौं नागार्जुन नगरपालिका-४ घर भएका ३६ वर्षीय उत्तम महर्जन र स्कारपियोमा सवार बाह्रविसे नगरपालिका-७ घुम्थाङ बस्ने ४१ वर्षीय बल बहादुर खत्री रहेका छन् ।

गम्भीर घाइते भएका उनीहरूको सिन्धु सदाबाहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका स्कारपियोमा सवार ४ जनालाई उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ । यता जुम्ला, कनकासुन्दरी गाउँपालिका-४ स्थित सडकमा भे.१ ज १०९९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जीपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरूको हाल सनाखत हुन सकेको छैन् ।

यस्तै नुवाकोट, बिदुर नगरपालिका-१० बेत्रावतीस्थित उत्तरगया हार्डवयरको बालुवा डिपोमा बा.४ ख ४३४२ नम्बरको टिपर बालुवा लोड गर्दा ब्याक गर्ने क्रममा टिपरको टायरले किच्चिएर रसुवा उत्तरगया गाउँपालिका-१ गोगनी घर भएका ३७ वर्षीय कामी तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । टिपरको टायरले किँचिदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-२ नारायणी पुलस्थित सडकमा बाग्मती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाईडरमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा चालक चितवन भरतपुर महानगरपालिका-२८ बस्ने २८ वर्षीय नारायण ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार