आन्तरिक अव्यवस्थाका कारण बिदेसिन बाध्य युवाहरू

देश छोड्ने युवाहरूको लर्को दिन प्रतिदिन लम्बिँदो अवस्थामा छ । एयरपोर्टमा गएर विदेशिँदै गरेका युवा युवतीको लाइन देख्दा लाग्छ अबको ८÷१० वर्षमा नेपाल वृद्धाश्रममा परिणत हुनेछ । आधारभूत शिक्षा लिनका लागि वा जीविकोपार्जनका लागि विदेश नै जानुपर्ने बाध्यता आइलाग्यो भने कुन युवा यहाँ बस्न रूचाउँछ र ? बस्यो नै भने पनि उसको भविष्य कस्तो होला ? एउटा पक्का कुराचाहिँ के हो भने युवा पलायनको यस विकराल अवस्थालाई रोकिएन भने भोलि मुलुकमा मलामीका लागि पनि मान्छे नपाउने स्थिति पैदा हुनसक्छ, मुलुकको समृद्धिका कुरा त के गर्नु ?

भाषणमा राष्ट्रवादी नारा लगाउने नेताहरू पनि आफ्ना छोरा–छोरीलाई अमेरिका, क्यानाडा, बेलायत अथवा अस्ट्रेलियालगायतका देशहरूमा पठाउन एयरपोर्टमा पुगेपछि खादा लगाएर ट्रलीमा लगेज ठेल्दै गरेका छोराछोरीसँग सेल्फी हानेको फोटो सगर्व फेसबुकमा सेयर गरिरहेका हुन्छन् । देशका नीति निमार्ताहरू अथवा ब्युरोक्रेसीका उच्चपदस्थ अधिकारीहरू नै पार्टी–भोजमा आफन्तहरूसँग आफ्ना सन्तान विदेश गएकोमा सगर्व ठूला गफ दिइरहेका हुन्छन् । केही पर बसेर उनीहरूका गफ सुनिरहेको कुनै स्वाभिमानी आफन्त भने आफ्नो छोराले उच्च शिक्षाको लागि विदेश जाने कुरा गर्दा असहमती जनाएर रोकेकोमा पछुता गर्दै घरमा गएर आफ्नो छोरालाई भन्छ– ‘बाबु तँ पनि भिजाको प्रक्रिया शुरु गर, बैंकसँग ऋण लिएर भए पनि म तँलाई विदेश पठाउनेछु ।’



यसरी कोही शोखले, कोही देखासिकी गर्न र कोही बाध्यताले आफ्ना सन्तानलाई विदेश पठाउन बाध्य छन् । सरकारले दिनहुँ सयौं युवा बिदेसिनुको कारणको गम्भीरतापूर्वक खोजी गरेको छैन । अवसर र स्तरीय शिक्षाका लागि युवाहरू बिदेसिँदा सरकार भने युवाशक्तिलाई विकल्पसहित रोक्ने आकर्षक नीति बनाउनुको साटो बिदेसिने युवाको सङ्ख्या गनेर बसिरहेको छ । उनीहरूले पठाएको रेमिट्यान्सबाट देश चलाइरहेकाहरूले रेमिट्यान्सको विकल्पको खोजी कहिल्यै गरेनन् ।

नेपालमा धेरै कलेजहरू बन्द हुने अवस्थामा पुगेका छन् भने हैसियत र सम्भावना बोकेका नेपाली विद्यार्थीहरू रेमिट्यान्सबाट आएर डलर बोकेर बिदेसिँदै छन् । नेपालको शिक्षालाई स्तरीय बनाएर विदेशबाट पनि पढ्न विद्यार्थी नेपाल आउने अवस्था सिर्जना गर्न सक्नुपथ्र्यो तर यस दिशामा सिन्को भाँच्ने पनि काम हुन सकेन ।

नेपाली युवा बिदेसिने मुख्य कारण अवसरको खोजी गर्नु नै हो । ‘पानी जति तातो भए पनि चुरोट सल्काउन सकिन्न’ भनेजस्तै आदर्शका कुरा जति गरे पनि आदर्शका कुराले मात्र पेट भरिँदैन । नेपालमा भएको उद्योग धन्दा त नेताहरूले बेचेर खाइसकेका छन्, यस्तो अवस्थामा रोजगारी कसले दिने ? अनि स्वदेशमा बेरोजगार भएर खाली पेट मर्नुभन्दा विदेश जानु निको ठानेर पाखुरामा बल र मनमा हिम्मत भएका अधिकांश युवाशक्ति बिदेसिन्छन् । बेरोजगार र सम्भावना भएका युवाशक्तिलाई रोक्न सरकारले कुनै प्रभावकारी योजना वा नीति बनाउन सकेन ।

सत्तामा पुग्न जतिसुकै आदर्शका कुरा गरे पनि सत्तामा पुगेपछि नेताहरूमा जनतासँग गरेका कुनै पनि वाचा याद रहँदैन । चुनावी घोषणापत्रमा उल्लेख गरेका कुराहरू र भाषणमार्फत् जनतालाई बाँडेका सपनाहरू चुनावी प्रोपोगण्डा मात्र हुन्, चुनाव जितेपछि सबै बिर्सिदिन्छन् । अनि त युवाले बिदेसिनुको विकल्प रहँदैन ।

स्वदेशमा नै बसेर निर्यातमुखी काम गर्न चाहने र कृषिकर्ममा लागेर भोकालाई भोजनको व्यवस्था मिलाउने कृषक पनि सरकारसँग खुसी छैनन् । सरकार न समयमा पानी र मल दिन सक्छ, न अन्य व्यवसायीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण मिलाइदिन सक्छ । विदेश पैठारी गर्ने वस्तुको अभावमा विदेशी मुद्राको सञ्चितिमा दवाब पर्नजान्छ । यस्तो अवस्थामा देश कुनै पनि बेला श्रीलङ्काको स्थितिमा पुग्नसक्छ, सरकारसँग विकल्प छैन, गुरु योजना पनि छैन ।

व्यक्ति केन्द्रित सोच, दलगत स्वार्थ र भ्रष्टाचार देशका ठूला शत्रुहरू हुन् । सम्भवतः यस्तै अवस्था आउन सक्ने बुझेर कन्फुसियसले धेरै अगाडि भनेका थिए– ‘रगत खराब भए केही छैन तर सिद्धान्त खराब भयो भने सब बरवाद हुन्छ ।’ नेपालका राजनीतिक दलहरूमा देखिएको सिद्धान्तको विचलन नै सबै समस्याको जड हो । जुन देशका शीर्ष नेताहरू र मन्त्री सांसदहरू नै सुन तस्करीमा संल्ग्न हुन्छन्, आफ्नै नागरिकलाई अनागरिक बनाएर लुट्छन्, सरकारी जग्गाजमिन र नागरिकता बेचेर कमिशन खान्छन्, वाइड बडी जहाज खरिदमा जस्तै ठूला ठूला खरिदमा करोडौं डलर घुस खाएर बिचौलियाको इसारामा जे गर्न पनि तैयार हुन्छन्, त्यस्तो देश बर्बाद हुन बाहिरी शत्रुको आवश्यकता नपर्दोरहेछ ।

 

सम्बन्धित समाचार