डीएसपी नै ठगिएपछि….

सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन् ।

प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको ह्वाट्सएप म्यासेजमा उनले कुराकानी गर्ने गरेकी थिइन् । कुराकानी बढ्दै जाँदा ती व्यक्तिले आफू युद्धमा जान लागेको आर्मी भनेर चिनाएका थिए । युद्धका क्रममा परिवार गुमाएको र आफ्नो एउटा खुट्टा पनि गुमाएको जानकारी ती डीएसपीलाई दिएका थिए। निरन्तरको कुराकानी र फोटो भिडियो आदानप्रदान भइसके पछि ति व्यक्तिले बिमावापत आफूलाई निकै पैसा आएको बताएका थिए । उक्त पैसा नेपालकी साथी बनेकी उनै डीएसपीलाई पठाउन लागेको उनले बताए । पैसा कुरियर गरेको फोटो पनि पठाए । त्यसको केही दिनपछि सशस्त्रकी डीएसपीलाई भन्सारबाट गरेको भन्दै एउटा फोन आएको थियो ।



भन्सारबाट फोन गर्ने व्यक्तिले उनको सामान छुटाउनका लागि पैसा लाग्ने भन्दै पैसा पठाउन आग्रह गरे । कोशेलीस्वरुप विदेशबाट पैसा आएको भन्दै ढुक्क भएकी ती डीएसपीले भन्सार एजेन्टले भनेको अकाउन्टमा पैसा पठाइदिइन् । पैसा पाएपछि फोन गर्ने व्यक्ति र ह्वाट्सएपमा कुराकानी गर्ने व्यक्ति हराए ।

प्रवक्ता रेग्मी भन्छन्, ‘ठगी गर्ने व्यक्तिको खोजी भइरहेको छ । ठगीमा विदेशी नागरिक संलग्न भए पनि उसले प्रयोग गरेको खाता भने नेपाली व्यक्तिको थियो । खाता भएका एक चौधरी थरका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ यस्तै सामाजिक सञ्जालमा आएको सूचनामा भर पर्दा भक्तपुरकै एक युवाको ३४ लाख रुपैयाँ ठगी भएको थियो । क्यानडा जाने भन्दै उनले अपरिचित खातामा ३४ लाख रुपैयाँ पठाएका थिए । केही दिनअघि ललितपुरका सुसन घिमिरे अनलाइन ठगी गरेको आरोपमा पक्राउ परेका थिए। उनले अनलाइनबाट चिठ्ठा परेको भन्दै ११ लाख रुपैयाँ ठगी गरेका थिए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सम्बन्धित समाचार