नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।
साविक विजेता श्रीलंका एसीसी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सुपर फोरको खेलमा पाकिस्तानलाई डिएलएस मेथडमा २ विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा प्रवेश गरेको हो ।
श्रीलंकाको कोलम्बो स्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित रहँदै ८६ रनको अर्धशतकीय पारी खेले भने अब्दुल्लाह शफिकले ५२ रनको योगदान दिए । त्यस्तै इफ्तिखर अहमदले ४७ र कप्तान बाबर आजमले २९ रन बनाए । श्रीलंकाका लागि मथिसा पथिरानाले ३ विकेट लिए भने प्रमोद मधुशनले २ विकेट लिँदा महेश थिक्क्षना र दुनीथ वेलालगेको भागमा समान १-१ विकेट रह्यो ।
डकवर्थ लुईस पद्दती अनुसार २५२ रनकै लक्ष्य पाएको श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्यो । श्रीलंकाका लागि कुशल मेन्डिसले ९१ रनको अर्धशतकीय पारी खेले भने चरिथ असलंकाले ४७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४९ रनमा अविजित रहे । यस्तै सदिरा समाराविक्रमा ४८ रन जोड्दा पाथुम निसंकाले २९ र कुशल परेराले १७ रन बनाए ।
पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदीले २ विकेट लिँदा शादब खानको भागमा १ विकेट रह्यो । अब आइतबार श्रीलंकाले उपाधिको लागि भारतसॅंग खेल्ने छ ।