नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।
एसीसी एसिया कपमा भारत बंगलादेशसँग पराजित भएको छ । शुक्रबार भएको सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको हो ।
श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान शाकिब अल हसन र टोहिद हृदयले ८० रनको अर्धशतकीय पारी खेल्दै क्रमश: ८० र ५४ रन बनाए । त्यस्तै नसुम अहमद ४४ रन बनाई आउट भए भने मेहदी हसनले २९ रन जोडे । भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए भने मोहम्मद सामीले २ विकेट लिँदा रविन्द्र जडेजा, अक्सर पटेल र प्रसिद्ध कृष्णको भागमा समान १-१ विकेट रह्यो ।
२६६ रनको लक्ष्य लिएर मैदान उत्रेको भारत ४९ दशमलब ५ ओभरमा २५९ रनमा समेटिएको थियो । भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकिय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अक्सर पटेलले ४२ रन जोड्दा सुर्यकुमार यादवले २६ रन बनाए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने तन्जिम हसन र महिदी हसनले समान २-२ विकेट लिँदा शकिब अल हसन र मेहदी हसन मिराजको भागमा समान १-१ विकेट रह्यो ।
जितसंगै बंगलादेशले प्रतियोगिताको सुखद अन्त्य गरेको छ भने बंगलादेशसँग हार व्यहोरेको भारत विजेताको रुपमा फाइनल पुगेको छ । अब भारतले उपाधिको लागि आइतबार श्रीलंकासँग खेल्नेछ । गत बिहीबार भएको खेलमा उपाधि दावेदार पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान बनाएइसकेको छ ।