शैलुङको पर्यटन प्रबर्द्धन गर्न ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना हुने

‘माथि माथि शलुङ्गेमा चौँरी डुलाउनेलाई….’ शीर्षकको कुन्ती मोक्तानले गाएको यस सदाबहार गीतलाई नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर सम्भावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको शैलुङको प्रबद्र्धन गर्न स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना गर्ने भएको छ ।

गत वर्ष लमजुङको भुजुङमा भीरमौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करणका रूपमा दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टराइले जानकारी दिए । असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा सेलिब्रेटी, प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी सहभागी हुने पनि उनले जानकारी गराए ।



यस स्पार्क एड्भेन्चरमा क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, कलाकार निखिल उप्रेती, सन्दर्भ दिप क्षेत्री, दिलीप रायमाझी, गायक यश कुमार, गरिमा शर्मा तथा लेखक बुद्धिसागर, ट्राभलर सिर्जना सिज्जुलगायतको उपस्थिति रहने संयोजक भट्टराईले जानकारी दिए ।

असोज ११ गते बिहान काठमाडौंदेखि शैलुङको यात्रा सुरू हुने तथा असोज १२ गते चौँरी गोठ र शैलुुङलाई एक्सफ्लोर गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सोही दिन साँझ स्थानीय सास्कृतिक कार्याक्रमसहित रैथाने खानाको व्यवस्था हुने छ । आन्तरिक पर्यटनको खोजी गर्ने, चौरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ तथा रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउन इच्छुक सहभागीहरूले कार्याक्रममा सहभागी हुन पाउने जनाइएको छ ।

हिमालयको पानारोमा भ्युु, लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्नका लागि पनि यस कार्यक्रममा सहभागी हुनुपर्ने संयोजक भट्टराई बताउँछन् ।

कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ लाग्ने जनाइएको छ । वर्षौंदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यहरुको खोजी गर्न स्पार्क एड्भेन्चरलाई भविष्यमा पनि निरन्तरता दिइने पनि भट्टराई बताउँछन् ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ । विवाईडी र स्पार्क कारको सहकार्यमा साउथ एसियामा सबैभन्दा बढी विद्युतीय गाडी परिचालन गर्ने संस्थाको रुपमा स्पार्क कार रहेको पनि भट्टराईले जानकारी दिए ।

स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सिलसिलामा सन् २०३५ सम्ममा संस्थालाई आवश्यक सबै सवारीसाधन विद्युतीय मात्रै प्रयोग गर्ने लक्ष्य राखेको पनि जानकारी गराइयो ।

सम्बन्धित समाचार