नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।
सुन जस्तो धातु देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ परेका छन् । सुन जस्तो धातु देखाई ठगी गरेको आरोपमा बालाजु एरियाबाट प्रहरीले शुक्रबार ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय विशुराम थपलिया, दोलखा बिगु गाउँपालिका-५ घर भई भक्तपुर नयाँ ठिमी बस्ने ३० वर्षीय भिमसेन बिक, काठमाडौं महानगरपालिका-३ लाजिम्पाट मिलन मार्ग बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरी सितापुर गाउँपालिका-८ इटहरुवा घर भई काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीय दिलिप कुमार चौधरी रहेका छन् ।
काठमाडौं महानगरपालिका-१६ बालाजु क्षेत्रमा सुन जस्तो धातु देखाई ठगी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बालाजु पठइएको छ ।