सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु छ । कैलाली, घोडाघोडी नगरपालिका-४ डङडङ्गेस्थित सडकमा से.५ प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-१ बस्ने २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पश्चात निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।



त्यस्तै सर्लाही, मलंगवा नगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने राम दर्शन पासवानकी छोरी ४ वर्षीया नन्दनी कुमारीको आइतबार दिउँसो मृत्यु भएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै सिन्धुली, दुधौली नगरपालिका-२ बसनियास्थित सडकमा स.९ प.३४ ८९ नम्बरको मोटरसाइकल र प्र.२-०२-००१ ह १८२८ नम्बरको अटो एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार दुधौली नगरपालिका-३ झुगाँ बस्ने ३५ वर्षीय रविना धामीको छोरा १ महिने शिशुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका शिशुको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार २ जना र अटोमा सवार ४ गरी ६ जना मध्ये ३ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरेको र ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता कैलाली, लम्कीचुहा नगरपालिका-४ गिदिनिया भन्ने स्थानमा साइकलबाट लडेर सोही ठाउँ बस्ने ३४ वर्षीय नरेन्द्र थापाको आइतबार दिउँसो मृत्यु भएको छ । घरबाट भल्कातर्फ जाने क्रममा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार