पत्रपत्रिका
काठमाडौं, ४ असोज ।
नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा दुई देशबिच सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत ऊर्जा अधिकारीहरू सम्मिलित प्राविधिक टोली (जेटिटी) को १४ औँ संयुक्त बैठकमा यस्तो सहमति जुटेको हो ।
यसअघि नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले लाने सहमति भएको थियो । यो प्रारम्भिक सम्झौता कार्यान्वयनमा लान हाल जुटेको दुई देशीय प्राविधिक समितिको सहमति महत्वपूर्ण साबित हुने छ ।
सहसचिवस्तरीय उक्त बैठकमा नेपाली पक्षको नेतृत्व नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर राजेश गोयलले गरेका थिए ।
बैठकमा सहभागी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवका अनुसार विभिन्न प्रसारण लाइनहरूको सहप्रयोगसम्बन्धी आठ बुँदामा सहमति भएको छ । सहमति अनुसार नेपाल–भारत विद्युत् व्यापारको महत्वपूर्ण पूर्वाधार ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट अब आठ सय मेगावाटभन्दा धेरै विद्युत् निर्यात गर्न सकिने छ ।
दुई देशबिचको सहमति अनुसार हालसम्म आठ सय मेगावाट मात्रै विद्युत् निर्यात गर्न सकिने अवस्था थियो । अब निर्माण सम्पन्न हुनै लागेको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन तयार भएपछि ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट थप विद्युत् आदान प्रदान हुने छ ।
सतलज जलविद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाको बिजुली भारत लैजान बनाइरहेको ढल्केबर सीतामढी प्रसारण लाइनमा पनि नेपाल विद्युत् प्राधिकरणले थप विद्युत् निर्यात गर्न पाउने सहमति जुटेको छ ।
यसले भविष्यमा ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन क्षमता पूर्ण भएका अवस्थामा पनि एसजेभिएनले बनाइरहेको ढल्केबर सीतामढी ४०० केभीसमेत निर्यात उपयोगमा लिन पाइने छ । यो प्रसारण लाइन अब आयात निर्यात दुवै उद्देश्यमा प्रयोग हुने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।