नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषा, मिथिला बिहारी नगरपालिका-९ अन्दुपट्टीमा अन्दुपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ क ३०० नम्बरको गोदावरी इङ्लिस बोर्डिङ स्कुलको बसबाट लडेर बसका सह- चालक जनकपुर उपमहानगरपालिका-१४ बस्ने १७ वर्षीय अमित कुमार यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
बसबाट लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै लमजुङ, बेशीशहर नगरपालिका-३ धुवाँखोलामा गाउँशहरबाट बेशीशहरतर्फ जाँदै गरेको ग.१ ज ७१०१ नम्बरको जिपको ढालाबाट लडेर बेशीशहर नगरपालिका-३ गाउँशहर बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय उज्वल बिकको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ फेनहरामा युपि ५६ जे ८८४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६३ वर्षीय पारम यादवको शुक्रबार राति मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।